स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए, परिवारजन शोकाकुल

ई ललितपुर समाचारदाता
०८१ पुस ९ गते

जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद आचार्यलाई राज्यले सरकारी स्कुटर उपलब्ध गरायो । तर, सवारीचालक अनुमतिपत्र भने थिएन ।

त्यसैले कार्यालय जान–आउन सहजताका लागि स्कुटरको लाइसेन्स अर्थात् सवारीचालक अनुमतिपत्रको परीक्षा दिन गत मंसिर २८ गते बिदा लिएर भक्तपुर आएका थिए दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १ दिक्तेलका स्थायी बासिन्दा निमित्त कार्यालय प्रमुख आचार्य । तर, सवारीचालक अनुमतिपत्र लिने धोको पूरा गर्न नपाउँदै सधैँका लागि अस्ताए ।

सूर्यविनायक नगरपालिका– २ बालकोट फिकाधारास्थित भाडाको घरको भुइँतलामा कोठाभित्र मृत अवस्थामा फेला परेका बाबु कुलप्रसाद र कान्छो छोरा २२ वर्षीय प्रवीण आचार्यको हत्या अभियोगमा प्रहरीले जेठा छोरा मिलन भन्ने रुपेश आचार्यलाई मंगलबार काठमाडौं महाराजगन्जबाट पक्राउ गरेको छ ।

सोमबार बिहानसम्म कोठा नखोलेको, परिवारका कोही पनि बाहिर नदेखिएको र मोबाइलसमेत सम्पर्क नभएपछि सोमबार बिहान प्रहरीलाई खबर गरी कोठाको ताल्चा फुटाएर भित्र पस्दा बाउ–छोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिएका थिए ।

कुलप्रसादको हत्यापछि सिरक ओढाएको र भान्छा कोठामा सुतेका प्रवीणको भने बीभत्स तरिकाले टाउकोमा सिलौटाले प्रहार गरी अनुहार नै चिन्नै नसकिने अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ ।

बालकोटस्थित कान्छो छोरा एकनाथको घरमा बस्दै आएका मृतक कुलप्रसादका बुवा ८२ वर्षीय खडानन्द आचार्य, आमा ७६ वर्षीय तुलसा आचार्य र घटनापछि दिक्तेलबाट बालकोट आइपुगेकी मृतक कुलप्रसादकी पत्नी रेजिना आचार्य मात्रै होइनन्, आचार्यको सिंगाे परिवार र आफन्तजन सोमबारदेखि नै शोकाकुल बनेका छन् ।

मंगलबार साँझ पशुपति आर्यघाटमा बाबुछोराको एकैपटक दाहसंस्कार गर्दा परिवार र आफन्तको शोक निकै पीडादायक थियो । ८२ वर्षीय खडानन्दले आफ्नै छोरा र नातिलाई दागबत्ती दिएर कोरा बारेर किरिया बसेपछिको पीडा पनि परिवार र आफन्तका लागि निकै कठिन बनेको देखिन्थ्यो ।

घरझगडा कहिल्यै नसुनेको, परिवारभित्र कलह कहिल्यै नरहेको, माया र स्नेहमै अगाडि बढिरहेको अवस्थामा माया गर्ने आफ्नै बाबु र भाइको बीभत्स तरिकाले कसरी हत्या गर्न सक्छ भन्ने प्रश्नले यो परिवारलाई पटक–पटक चिमोटिरहेको बताउँछन् मृतक परिवारका आफन्त दीपक पाण्डे ।

कान्छो छोराको घरमा बस्दै आएका बुवा खडानन्द र आमा तुलसासँगै थिए गत शनिबार साँझसम्म कुलप्रसाद । साँझ जेठो छोराले मासु बनाएको छु बाबा खाना खान आउनुस् भनेर बोलाएपछि झोला बुवाआमा सुत्ने कोठामै छाडेर छोराहरूको कोठामा पुगेका थिए उनी । बुवा र दुई भाइ छोराले शनिबार बेलुकाको खाना सँगै खाएको, तर अचानक राति यस्तो दुःखद घटना कसरी भयो ? किन भयो ? मृतकका परिवारजनले अहिले यही प्रश्न बारम्बार गरिरहेका छन् ।

शनिबार नातिको कोठामा जाँदा छोराले छाडेर गएको झोला हेरेर आमा तुलसाको आँखा ओभाएका छैनन् । अर्काेतिर छोरा र नातिको अकस्मात् भएको मृत्युको पीडाले बुवा खडानन्द छटपटाइरहेका छन् ।

मृतक कुलप्रसादकी पत्नी रेजिनाको आँसु रोकिएको छैन । ‘मेरो जेठोले आफूले अति माया गर्ने बुबा र भाइका हत्या गर्‍यो भनेर मैले कसरी पत्याउनु, मेरो छोरालाई मेरोअगाडि ल्याऊँ, म उसकै मुखबाट सुन्न चाहन्छु ।’ भन्दै भावविह्वल बनेकी रेजिनालाई सम्हाल्न सक्ने अवस्था नरहेको पाण्डे बताउँछन् । यतिखेर मृतकका आफन्तजनलाई पीडित आचार्य परिवारलाई सम्हाल्न सकस परेको छ ।

परिवारका अनुसार ध्यान, अध्ययन र कलाकारितामा सक्रिय जेठो छोरा मिलन आफन्त र पारिवारिक भेटघाटमा रमाउँथे । सबैको प्यारो बन्दै आएका मिलनले तयारी गरिरहेको लोकसेवाको परीक्षामा असफल भएपछि त्यसको पीडा भने उनलाई थियो । कान्छो छोरा प्रवीण सूचना प्रविधिमा स्नातक अध्ययन गरिरहेका थिए । विभिन्न प्रतियोगिताहरूमा भाग लिने उनी मोडलिङमा पनि जम्दै थिए । मृतक कुलप्रसादका भाइ माधवले मोडलिङमा अगाडि बढेका प्रवीणले केही म्युजिक भिडिओमा अभिनय गरेकाे जानकारी दिँदै स्नातक तहको अध्ययनपछि अमेरिकामा थप अध्यनका लागि जाने तयारी गरेको बताए ।

मृतक आचार्यकी जेठी छोरीको ललितपुरको लुभुमा विवाह भएर जीवन अगाडि बढिरहेको र कान्छी छोरी गएको तिहार मानेर पत्रकारितामा स्नातकोत्तर अध्ययनका लागि अस्ट्रेलिया गएकी थिइन् । शिक्षिकाबाट अवकाशप्राप्त मृतककी पत्नी रेजिना पनि पछिल्लो समय राजनीतिमा सक्रिय रहँदै आएकी थिइन् । उनी नेकपा एमाले खोटाङ जिल्ला सदस्य तथा अखिल नेपाल महिला संघमा सक्रिय भएकी नेकपा एमालेले जनाएको छ । मृतकका भाइ माधव छोराछोरीलाई पढ्न र उनीहरूको भविष्य बनाउने विषयमा दाजुभाउजूले कुनै कमी–कन्जुस्याइँ नगरेको बताउँछन् ।

घटना हुनुभन्दा दुई दिनअघि मात्रै कुलप्रसादलाई जेठो छोरा मिलनले बुवालाई शिक्षण अस्पताल महाराजगन्ज लगेर स्वास्थ्य जाँच गराएर आएको र गत शनिबार पनि साथीसँग क्रिकेट हेरेर फर्किएका थिए । तर, त्यही दिन राति किन त्यस्ता घटना भयो ? परिवार र आफन्तले यसको जवाफ अझै पाउन सकेका छैनन् ।

पक्राउपछि मिलन भन्ने रुपेश आचार्यलाई थप अनुसन्धानसहित कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याएर कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको भक्तपुर जिल्लाका प्रहरी उपरीक्षक माधवप्रसाद बढाथोकीले जानकारी दिए ।

प्रहरी वृत्त थिमिमा जाहेरी दिन र घटनाको सत्यतथ्यको गहिराइमा पुगेर अनुसन्धानको माग गर्न पुगेका मृतकका परिवारजन र आफन्तले जाहेरी दिएका छन् ।

प्रहरीका अनुसार आफ्नै बाबु र भाइका कारण तनाव महसुस भइरहेको र लोकसेवा आयोगको परीक्षामा असफल भएपछि झनै तनाव बढेकाले दुवैजनाको हत्या गरेपछि आफूले पनि आत्महत्या गर्न खोजेको, तर नसकेपछि फरार भएको भन्ने बयान मिलनबाट आएको छ ।

यसैगरी, शनिबार राति बुवा र भाइको हत्या गरेपछि आइतबार बिहान करिब ३ बजेतिर कोठामा ताल्चा मारेर बाहिरिएको र स्कुटर लिएर गएपछि प्रहरीले चौतर्फी खोजी गर्नेक्रममा मंगलबार महाराजगन्जमा मिलनलाई पक्राउ गरी उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Please follow and like us:
Pin Share
  • Related Posts

    महालक्ष्मी नगरपालिका–९ लामाटारद्वारा जेष्ठ नागरिकलाई तिर्थाटन

    दीपकप्रसाद घिमिरे ललितपुर ०८२ वैशाख १ गते ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर–९ द्वारा जेष्ठ नागरिकलाई चितवन, तनहु र नवलपराशीको त्रिबेणीमा रहेको देवघाटमा तिर्थाटन यात्रा गराइएकोे छ । तीर्थाटन ०८१…

    चन्द्रागिरिको पाटन सेवाकेन्द्र ठैबमा शुभारम्भ

    दीपकप्रसाद घिमिरे ललितपुर ०८२ वैशाख ६ गते चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको पाटन सेवाकेन्द्र ठैबमा ०८२ वैशाख ६ गते शुभारम्भ भएको छ । ललितपुरको पुल्चोकस्थित सञ्चालनमा रहेकको साविक पाटन…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    RSS
    Follow by Email